कन्हैया - Nepali Poem
कन्हैया
- श्रीदीप कैनी
कसार जस्तै
साह्रो भै’सकेको थियो, मेरो तन ।
ओस पसेको सिरकभित्र ओसिएर
असार जस्तै
चिसो भै’सकेको थियो, मेरो मन ।।
माथि कहिँबाट, मेरै ओत उडाउने जस्ता
पवनका लहरहरु
मेरो घरको ढोकाहरुबाट छिरी,
चोयाँको भित्तामा ठोक्किन पुगे ।
कतै कहिँबाट, मलाइ नै बोलाए जस्ता
मुरलीका धुनहरु
मेरा कानका ढोकाहरुबाट छिरी,
मनका लहरामा मच्चिन पुगे ।।
माथि कहिँबाट, मेरो छैँठीमा
तिम्रै नाम कोरिए जस्तै,
तिम्रो कल्पनाका धाँगाहरुमा
बाँधिन पुगेँ ।
कतै कहिँबाट, राधालाई
कन्हैयाले भगाए जस्तै,
हाम्रा मिलनका स्वप्नहरुमा
धमिल्लिन पुगेँ ।।
चार दिवारको अगाँलोमा कसिएर
कसार जस्तै
साह्रो भै’सकेको थियो, मेरो तन ।
तर तिम्रा धुनका तापहरुले
मेरो मन, खुदो जस्तै
नरम बन्दै गयो ।।
ओस पसेको सिरकभित्र ओसिएर
असार जस्तै
चिसो भै’सकेको थियो, मेरो मन ।
तर तिम्रा कल्पनाका उज्याला राँपहरुले
मेरो मनमा, हाम्रो मिलनका
संसार बुन्दै गयो ।।
नरम बन्दै गयो र संसार बुन्दै गयो ।
माया बढ्दै गयो र महल बन्दै गयो ।।
अब त त्यहीँ गोकुलको महलमा
कन्हैयाको यादमा,
आफ्नो जोवन लुटाउने,
मेरो धन्दै भयो ।।
माया बढ्दै गयो..
महल बन्दै गयो..
यो मेरो धन्दै भयो....
***
Comments
Post a Comment